भूमिपुत्र एवम् आदिवासीका सन्दर्भमा गुरूङ समाज र संस्कृतिको ऐतिहासिक पृष्ठभूमि
– डा.जगमान गुरूङ
गुरूङहरू खासगरी अन्नपूर्ण हिमश्रृङ्खलाको दक्षिणी काँठका मूल वासिन्दाहरू हुन् । शेर्पाहरूका अनुसार हिमालयमा यति र म्हिति नामक हिममानवहरू बस्दछन् । अहिले यतिको व्यापक रूपमा प्रचार प्रसार भएको छ तर म्हितिको बारेमा भने धेरै चर्चा परिचर्चा पाइँदैन । हिमालयको माथिल्लो भागमा बस्ने बाँदर जस्तै जीवलाई यति भन्दछ । हिमालयको तल्लो भागमा बस्ने र मानिससँग मिल्दोजुल्दो हिममानवलाई म्हिति भनिन्छ । म्हिति चाहिँ हिमालयको तल–तल चौँरी गोठतिर पनि आउँछ भन्ने विश्वास छ । वास्तवमा यति र आधुनिक मानवका बीचको अवस्थाको हिममानव म्हिति हो । योगी नरहरिनाथले पनि मानसरोवर कैलाश पर्वतको तीर्थयात्रामा हिममानव भेटेको वर्णन गर्नुभएको छ ।
गुरूङहरूमा म्हि (मान्छे) हराए हिमालमा जानू, पे (शास्त्र) हराए सिकलेस जानू भन्ने कहावत छ । यसबाट मानिसको सृष्टि हिमालमा भएको हो । त्यसकारण मानिसको बिउ हिमालमा पाइन्छ भन्ने गुरूङहरूको विश्वास रहेको बुझिन्छ । यस आधारमा अघि जुन बेलामा स क्येजि (धर्तीको सृष्टि भयो), मु क्येजि (आकाशको सृष्टि भयो), त्यही बेलामा सई तोजि (धर्तीले थापेर), मुई उजि (आकाशले छोपेर), म्हि क्येजि (मानिसको सृष्टि भयो), त्यस अवसरमा गण्डकीप्रदेशको अन्नपूर्णहिमशृ्ङ्खलामा सृष्टि भएका धर्तीपुत्रहरू र कालान्तरमा कैलाश मानसरोवरबाट सबुतोँक्ह्याल्स (जुम्लाको सिँजा), डोल्पाको थेबैक्वे (तिबृकोट), मुस्ताङको ठिनिक्ह्याल्स र मनाङको कोल हुँदै साविक लमजुङ र हाल कास्कीको क्होलसोँप्रेट्हाेँ आइपुगेका यी दुई समुदायको समन्वयबाट वर्तमान गुरूङ समाजको सृजना भएको छ ।
यस जगतमा जीवको सृष्टि भएका आदिम स्थलहरूमा नेपालको कालीगण्डकीक्षेत्र प्रसिद्ध छ । अघि समुद्र उत्तरतिर थियो । समुद्रको गर्भबाट जमिनको भाग माथि उठेपछि जमिनको होचो भाग दखिनतिर समुद्र बन्यो र उचो भाग उत्तरतिर हिमाल बन्यो । अहिले कालीगण्डकीको मुहान दामोदरकुण्डमा शालिग्राम पाइन्छन् । ती शालिग्रामहरू अघि समुद्रको गर्भमा रहेका विभिन्न जीवहरूका जीवाश्म हुन् । यस्ता जीवाश्महरू संसारमा अन्यत्र पाइएका छैनन् ।
मुस्ताङकै बाह्रगाउँक्षेत्रका काकनिङबा, ते र समरका ढुङ्गे गुफाहरूमा नवपाषाणयुग (ई.पू. ७०००–ई.पू.५०००) भन्दा अघिका प्रागैतिहासिक मानिसहरूले खोपेका विभिन्न पशुपंक्षीका आकृतिहरू पाइएका छन् (पोहले, २००३: १५३ : १–१४) । यसैगरी मुस्ताङको तल्लो भाग टुकुचेनेर चोखोपानीमा आदिम मानिसका गुफा चिहान पाइएको छ । यस गुफा चिहानलाई ईसापूर्व १२०० देखि ईसापूर्व ७०० वर्ष ताकाको मानिएको छ (तिवारी, १९८५ : ८५ : १–१२)।
उपल्लो मुस्ताङमा अमपाल (ई.१४४०) र उनका वंशजको शासन चल्नु भन्दा अघि ईस्वी सातौँ शताब्दी ताका नै मुस्ताङको बाह्रगाउँक्षेत्रमा सेरिब (Serib) नामक राज्य विकसित थियो । उक्त सेरिब राज्यको सम्बन्ध कैलाशपर्वतदेखि पश्चिममा अवस्थित बोनभूमि शाङ शुङसँग रहेको थियो । चिनीयाँ स्रोत अनुसार तिब्बतको दक्षिण–पश्चिममा तिब्बत भन्दा न्यानो ठाउँमा Hsi-Li नामक राज्य विकसित थियो । त्यही Hsi-Li, Si-Li लाई नै प्राचीन सेरिब (Serib) राज्य मानिएको छ (ज्याक्सन, १९७८ : ६ : ३ : १९८–१९९) । सेरिब राज्यका बासिन्दाहरू से कहलाउँदथे (ज्याक्सन, त्यही : २१२) । यसैगरी सेरिब राज्यका बासिन्दाहरू सेक्ये (से भाषा) बोल्दथे । अहिले पनि बाह्रगाउँको ते इलाकाका बासिन्दाहरू सेक्ये (से भाषा) बोल्दछन् । Dr. Perdita Pohle ले माथि उल्लेखित काकनिङबाको ढुङ्गे गुफाका ती कलाकृतिहरूलाई से भाषा र से संस्कृतिसँग सम्बन्धित मानेका छन् (पोहले, २००३ : १५३ : ४) ।
से जाति र सेक्ये (से भाषा)सँग गुरूङ जाति र भाषाको नजिकको सम्बन्ध रहेको छ (सयमन, १९८२ : १–२) । गुरूङको प्राचीन कथा पेमा गुरूङलाई से भनिएको छ, जस्तै – सोबुसे (सोगिँ घराना) र कुबुसे (कुगिँ घराना) यसका ज्वलन्त उदाहरण हुन् । अघि कुनै बेला गुरूङहरूलाई गुरूङसे भनिन्थ्यो । अहिले गुरूङसेको से अक्षर लोप भइसकेको छ तर गुरूङ महिलालाई भने अहिलेसम्म पनि गुरूङसेनी नै भनिआएको छ । प्है क्युई, चोँ क्युई, लो क्युई र तमु क्युई गरी भाषाको यस विकासक्रमबाट वर्तमान गुरूङ भाषाको विकास भएको छ । गुरूङहरूको यही चोँ क्युई High Lander हरूको भाषा नै सेक्ये हो । कास्की जिल्लामा मादी नदीको उद्गम स्थल भन्दा अलिकति तलतिर दाहिने पट्टिको पाखोमा प्राचीन गुरूङ सभ्यता र संस्कृतिले युक्त सिकलेस नामक एउटा गुरूङ गाउँ अवस्थित छ । सिकलेसलाई गुरूङ भाषामा चिलि भनिन्छ । उपरोक्त Hsi-Li, Si-Li र चिलि (Tsi-Li) शब्दको बीचमा समानता पाइन्छ । अर्को कुरा गण्डकीप्रदेशको दखिनी हिमाली काँठलाई शेष भनिन्छ । त्यसकारण गुरूङहरूलाई शेषान्त पनि भनेको पाइन्छ । यो शेष शब्द संस्कृत भाषाको शेष (बाँकी) शब्दसँग नभएर प्राचीन सेरिब राज्यको से जाति र से भाषासँग यसको सम्बन्ध रहेको छ ।
गुरूङ वंशावलीमा रागस्य राजा र भ्यागस्य राजाको उल्लेख छ (गुरूङ, २०३४ : २) । यी रागस्य र भ्यागस्य व्यक्तिको नाम नभएर घले राजा र शाही राजा भने जस्तै जातिगत नाम हुन् । यी रागस्य र भ्यागस्यहरू नै यहाँका भूमिपुत्रहरू हुन् । गुरूङ भाषाका प्रायः सबै जसो शब्दका माउ शब्दहरू तिब्बती भाषामा पाइन्छन् तर तिब्बती भाषामा माउ शब्द नभएका छुट्टै शब्दहरू पनि गुरूङ भाषामा पाइन्छन् । यसरी तिब्बती भाषामा माउ शब्द नभएका मौलिक शब्दहरू यहाँका भूमिपुत्रहरूका भाषा हुन् । रागस्यलाई नेपालीमा राकसे भनेको पाइन्छ । अघि कास्कीका राजा राकसे गुरूङले आक्रमण गर्दा पर्वत, मल्लाज, माझफाँटका घर्तीहरूले त्यहाँको पोखरीमा आफ्ना भाँडाकुँडाहरू लुकाएको वर्णन पाइन्छ (श्री ५ को सरकार, २०३१ : ३ : ४४५) ।
मुस्ताङको गुफा सभ्यता र संस्कृति मनाङको सब्जेप्ह्रन्गगुफा, क्होलसोँप्रेट्हाेँको च्ह्यम्स्यो उ (झुमागुफा), कास्की, सिकलेसको ह्राम्स्योगुफा, घ्याम्राङको ओडारगुफा र लमजुङ, पसगाउँको छेदगोँगुफासम्म आइपुगेको छ । यसरी अन्नपूर्णहिमश्रृङ्खलाको दखिनी पाटाका बस्तीहरू प्राचीन सेरिब राज्यको सीमान्त प्रदेशको रूपमा रहेको बुझिन्छ ।
नेपालमा अहिलेसम्म ठूलो ढुङ्गे संस्कृति (Megalithic Culture) को बारेमा अध्ययन अनुसन्धान भए गरेको पाइएको छैन । गुरूङहरूको आदिम थलो साविक लमजुङ र हाल कास्कीको क्होलसोँप्रेट्हाेँमा ठूलो ढुङ्गे संस्कृति (Megalithic Culture) को राम्रो नमूना पाइन्छ । यहाँको सभाघरको आगनमा क्होल राज्यको त्हो (मौलो) को रूपमा ८ फिट ६ इन्च अग्लो प्राकृतिक ढुङ्गा गाडिएको छ । यस मौलो ढुङ्गाको तलपट्टिको गहिराई थाह पाउन सकिएको छैन । क्होलमा उत्खनन गर्दा धेरै तलसम्म खन्दा पनि फेद फेला पार्न नसकेकोले खन्न छोडेको हो भनिन्छ । यसबाट यो ढुङ्गा कम्तीमा पनि १५–१६ फिट अग्लो हुनुपर्दछ ।
यसैगरी क्होलको बस्तीको शिरानमा १०–१२ फिट उचाइ भएका तीनओटा ढुङ्गालाई तीनचुले आकारमा गाडेर त्यसमाथि १५ फिट गोलाई भएको गोलो ढुङ्गा राखिएको छ । उक्त गोलो ढुङ्गालाई घनले हानेर गोलाई मिलाइएको छ । क्होल राज्यको जोखना हेर्नका लागि तान्त्रिक विधिले यो ढुङ्गा स्थापना गरिएको हो । क्होलमा पछिल्लो पटक बस्ती बस्नु भन्दा अघिका रैथाने भूमिपुत्रहरूले यो म्हुद युम (जोखना हेर्ने ढुङ्गा) स्थापना गरेको बुझिन्छ । क्होल राज्यको यो म्हुद युम (जोखना हेर्ने ढुङ्गा)बाट नेपालमा पनि ठूलो ढुङ्गे संस्कृति (Megalithic Culture) को विकास भएको पुष्टि हुन्छ ।
कास्की जिल्लामा ताङतिङदेखि माथि नामर्जुङको डाँडामा ढुङ्गाको घेरो लगाएर स–साना ढुङ्गाहरू थुपारी राखेको छ । यहाँ ढुङ्गाले ढुङ्गा व्याउँछ र वर्षेनी ढुङ्गा थपिँदै जान्छ भन्ने विश्वास छ । वास्तवमा नामर्जुङ डाँडाको यो ढुङ्गाको थुप्रो पुरानो ढुङ्गेयुगका मानिसका ढुङ्गाका हतियारका भण्डार हो । यसैगरी लमजुङ, पसगाउँको छेदगोँगुफामा पनि स–साना ढुङ्गाहरू थपारेर राखेको छ । यी ढुङ्गाहरू पनि पुरानो ढुङ्गेयुगका मानिसका हतियार हुन् । अतः पसगाउँको छेदगोँगुफा पुरानो ढुङ्गेयुगका मानिसले बसोबास गरेको गुफा हो भन्ने बुझिन्छ । पुरानो ढुङ्गेयुगका मानिसले प्राकृतिक ढुङ्गालाई नै आफ्नो हतियारको रूपमा प्रयोग गर्दथे भने नयाँ ढुङ्गेयुगका मानिसहरूले ढुङ्गालाई राम्ररी घोटेर बञ्चरो बनाई आफ्नो हतियारको रूपमा प्रयोग गर्दथे । यो कुरा यस सन्दर्भमा स्मरणीय छ । त्यसकारण ठूलो ढुङ्गे संस्कृति (Megalithic Culture) का निर्माता एवम् त्यस संस्कृतिका अनुयायी गुरूङहरू नेपालका भूमिपुत्र हुन् भन्ने प्रमाणित हुन्छ ।
Megalithic Culture को अर्को राम्रो नमूना कास्कीको सिकलेस गाउँमा पाइन्छ । सातसय सिकलेसको सभा बस्ने सभाटोलमा दुईटा क्ह्रों युम (तालुकीढुंगा) स्थापना गरिएका छन् । यी दुईटा ढुंगालाई चैंयुम भनिन्छ । यसैगरी सभाच्होमा गारो लगाएर त्यसमाथि ढुंगाका एघारओटा छप्पनिहरू राखिएका छन् । यी एघारओटा ढुंगाका छप्पनिहरूलाई छैंयुम भन्दछ । भूमे पूज्ने बेलामा उपरोक्त एघारओटा छप्पनि मध्ये नवौ छप्पनिलाई चोखोपानी र गाईको गोबरले लिपपोत गर्नुपर्दछ । घोक हाल्ने म्हिनले नुहाई धुवाई चोखीनीति गरेर चोखो लँगौटी मात्र लगाउनु पर्दछ । लँ गौटी बाहेक अरु लुगा लगाउन हूँदैन । त्यसपछि पहिलो ढुंगाबाट टेक्दै गई नवौँ ढुंगामा पातीको मुन्टा राखेर ढोगगरी त्यसमाथि टेकेर उभिनु पर्दछ । उक्त ढुंगालाई पनि रेखा कोरेर दुई भाग बनाएको छ र रेखा बाहिर डिलतिरको भागमा टेकेर उभिई घोक हाल्नुपर्दछ । यसैगरी सिकलेसको गाउ“माथि वनभित्र सातसय सिकलेसको ट्होँथेब (भूमेथान) छ । उक्त भूमेथानमा ढु्र्रंगाका सोह्रओटा छप्पनिहरू ओछयाएर राखिएका छन् । भूमेथानमा ओछ््याईएका सोह्रओटा छप्पनिढुंगा मध्ये नौओटा छप्पनि ढुंगामा सिकलेस नौ तालुकका नौजना तालुकदार मुखियाहरू बस्दछन् । अरू चारओटा छप्पनिढुंगामा सिकलेसको मुख्य चारटोलका चारजना म्हिन (कारबारीकाजी) हरू बस्दछन् । एउटा छप्पनिढुंगामा भूमेका पूजारी सिकलेस गैह्रीटोलको स्युरिधुँ टुँ ल्ह्येबृँ बस्दछ । एउटा छप्पनिढुंगामा स्यरो (भूमेपूजामा भोग दिएको भेडाको सर्वा·को एक–एक टुक्रा मासु) र एउटा छप्पनिढुंगामा ल्ह्येबृँको प्याँ (दस्तुर अनुसारको अन्न) राख्दछ । सिकलेसको यस भूमेपूजामा भूमिपुत्र एवम् आदिवासीहरूका गणपूरक संख्याको मान्यतालाई कायम राखिएको छ ।
लमजुङको पसगाउँ, भुजुङ र क्होएरोँ (तल्लो घनपोखरा)मा पनि यस्ता तालुकी ढुङ्गाहरू स्थापना गरिएका छन् । यस सन्दर्भमा लमजुङ, भुजुङको थुम्पो ढुङ्गा बडो सम्वेदनशील र मार्मिक छ । अघि भुजुङका कुँगि घरानाका पोम र प्हज्यु तथा प्ल्हिगिँ घरानाका ङिजि लामछानेले आफ्नो गाउँको शान्ति, सुरक्षा र विकास निर्माणका निमित्त एक हुनका लागि आचा वाचा बाँधेर त्यसको स्मृतिका लागि दुइटा ढुङ्गा खापेर राखेका थिए, जुन ढुङ्गा प्हजोँ युम्पोको नामबाट प्रसिद्ध छ । भुजुङको यस युम्पो ढुङ्गाले नेपालमा Megalithic Culture को राम्रो नमूना प्रस्तुत गर्दछ । यसका अतिरिक्त भुजुङको यस युम्पो ढुङ्गाले केवल त्यस बेलाका पोम, प्हज्यु र ङिजि लेमलाई मात्र नभई अहिले र जहिले पनि समस्त गुरूङहरूलाई आफ्नो सामाजिक सुसङ्गठन एवम् सांस्कृतिक संरक्षण, संवद्र्धन तथा विकासका लागि एकताबद्ध हुन अभिप्रेरित गर्दै राम्रो सन्देश दिइरहेको छ ।
मुस्ताङको ठिनी (क्ह्याल्सोम्पो) सँग गुरूङहरूको ऐतिहासिक सम्बन्ध गाँसिएको छ । ठि (राजगद्दि) भएको ने (स्थान) भएको हुँदा क्ह्याल्सोम्पोलाई ठिने भनेको र कालान्तरमा ठिनेबाट ठिनि भएको हो । ठिनि (क्ह्याल्सोम्पो) लाई गुरूङहरू ठिनिक्ह्याल्स भन्दछन् । गुरूङको वंशावलीमा सबुतोँक्ह्याल्स (जुम्ला, सिँजा) का घले राजा सतिक्ह्यालका कान्छा छोरा ललिक्ह्यालले क्ह्याल्सोम्पो (ठिनिक्यह्याल्स) मा आई रजाईँ गरेको उल्लेख छ (गुरूङ, २०३४ : ७) । ठिनिक्ह्याल्ससँग नोचन खोर्लो ह्रिमरछेको पनि सम्बन्ध रहेको छ । ठिनिक्ह्याल्समा अजिमो–प्हजिमो नामक भूत उत्पन्न भएर उपद्रो मचाउँदा नोचन खोर्लो ह्रिमरछेले उक्त अजिमो–प्हजिमोलाई मारी ठिनिक्ह्याल्समा शान्ति र सुव्यवस्था कायम गरेर उनी त्यहाँका राजा भएको उल्लेख नोचन खोर्लो ह्रिमरछेको पे (कथा)मा पाइन्छ । नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा उनीसँग माथिबाट आउने पहिरो र तलबाट आउने हुरीलाई छेक्न सक्ने सामथ्र्य भएको उल्लेख छ । ठिनिक्ह्याल्समा माथिबाट नीलगिरीको हिमपहिरो आउँछ । तलतिर सेपक्कै लगाएर कालीगण्डकी बगेको छ । त्यहाँ बिहान ७।३० बजेदेखि साँझ ६ बजेसम्म उत्तरतिरबाट लगातार ठूलो हुरी चल्दछ । यसरी नोचन खोर्लो ह्रिमरछेको पे (कथा) मा उल्लेखित उनको शक्ति, सामथ्र्य र ठिनिक्ह्याल्सको भौगोलिक अवस्थितिमा समानता पाइन्छ ।
अघि तिब्बतमा न्यठि चन्पो, ल्ह थोथोरि न्यनचन, नमरि स्रोङचन, स्रोङचनगम्पो, ठिरोङ दे चन, ठिदे स्रोङचन आदि चन उपाधिधारी प्रतापी राजाहरू थिए (स्नेलग्रोव र रिचार्डशन, २००३ः २३, २६, २७, ५०,५२) । चन्पो अथवा चनको अर्थ The Mighty One अधिकारयुक्त एकमात्र राजा हुन्छ (स्नेलग्रोव र रिचार्डशन, त्यही, ५८)। मङ्गोलियन भाषामा राजालाई शानयु वा शान भनेको पाइन्छ (सांकृत्यायन, २०४२ : ८१) । यसबाट मङ्गोलियन भाषाको शानयु वा शान शब्द र तिब्बती भाषाको चन्पो वा चन शब्दका बीच सामञ्जस्यता रहेको पाइन्छ । राजालाई जनाउने त्यही चन्पो वा चन शब्दलाई गुरूङहरूले पनि अपनाएर आफ्ना राजाको नोचन खोर्लो ह्रिमरछे नाम राखेका हुन् ।
कुनै पनि ठाउँको भूमिपुत्र र आदिवासी हुनका लागि त्यस ठाउँको भूमिसँग तिनिहरूको सम्बन्ध रहेको हुनुपर्दछ र उनीहरूको भाषा, धर्म, संस्कृति र भेषभूषामा आदिमपना हुनुपर्दछ । गुरूङहरूको भाषा, धर्म, संस्कृति र भेषभूषाले उनीहरू गण्डकीप्रदेशका भूमिपुत्र र आदिवासी हुन् भन्ने प्रमाणित गर्दछ । गुरूङका पज्यु, ल्ह्येबृँ र लम (लामा) गरी तीन वर्गका पुरोहित छन् । पज्यु–झाँकृ (Shaman), ल्ह्येबृँ–बोन र लम (लामा) चाहीँ बौद्धमार्गी हुन् । झाँकृ (Shaman) को सम्बन्ध प्रकृतिसँग रहेको हुन्छ । गुरूङका लम (लामा) र ल्ह्येबृँले आफ्नो शिरमा पञ्चबुद्धका चित्रको मुकुट लगाउँदछन् । मानिसले देवी देवताको स्वरूप बुझेर विभिन्न प्रकारका रङ्गहरू थाह पाएर चित्र लेख्न जाने पछि चित्रकलाको विकास भएको हो । पज्युले भने आफ्नो शिरमा दायाँपट्टि डाँफेको भालेको दायाँपट्टिकै प्वाँख र बायाँपट्टि डाँफेको पोथीको बायाँपट्टिकै प्वाँखको मुकुट लगाउँदछ । पज्युको ह्राल्बो (चुच्चे टोपी) को टुप्पामा मोहोडातिर फर्काएर घोरलको एक जोडा सिङ जडान गरेको हुन्छ । त्यसमा कस्तुरी, बाघ र बनेलको दाह्रा झुन्ड्याएको हुन्छ । कौडि पनि जडेको हुन्छ । कस्तुरीको दाह्रलाई बाना भन्दछ । लम (लामा) ले तलतिर फलामको तीनपाटे चुच्चो परेको र माथितिर पित्तलको वज्र भएको वज्रकिल (त्होर्जेफुर्ब) लाई आफ्नो मुख्य आयुधको रूपमा लिन्छन् । ल्ह्येबृँले काठको चरालाई आयुधको रूपमा लिन्छन् । मानिसले धातुलाई चिनेर त्यसलाई विशेष आकृतिमा ढाल्न सक्ने प्रविधिको विकास गरेपछि धातुको सम्मिश्रण गरेर वज्रकिल बनाउन जानेको हो । त्यसैगरी काठमा विभिन्न रूपको आकृति बनाउन जान्ने शिप र कलाको विकास भएपछि काठको चरा बनाउन जानिएको हो । पज्युले तलपट्टि चोसो परेको फलामको ढुङ्ग्रोमा दुम्सिको काँडा हालेर त्यसलाई आफ्नो तन्त्र साधनाको मुख्य उपकरणको रूपमा प्रयोग गर्दछन् । अतः पज्युको दुम्सिको काँडा ल्ह्येबृँको काठको चरा र लामाको धातुको वज्रकिलभन्दा आदिम र प्रकृतिसँग सम्बन्धित छ ।
लामाको ढ्याङ्ग्रो दुवैतिर मोरेको दुई पाखे हुन्छ । ल्ह्येबृँ र पज्युको ढ्याङ्ग्रो एकातिर मात्र मोरेको एक पाखे हुन्छ । एक पाखे ढ्याङ्ग्रोबाट नै दुई पाखे ढ्याङ्ग्रोको विकास भएको हो । ल्ह्येबृँको ढ्याङ्ग्रोठूलो खालको र पज्युको ढ्याङ्ग्रो सानो हुन्छ । सानो खालको ढ्याङ्ग्रोबाट ठूलो ढ्याङ्ग्रोको विकास भएको हो । पज्युले चैँगि (खोटसल्लो) को काठको घेरामा घोरलको छाला र बेतको तनाले मोरेको ढ्याङ्ग्रोलाई कुकुर डाइनेको गजाले बजाउँदछ । लामागुरु र ल्ह्येबृँगुरु आफूले झ्यालि बजाउँदछ र अरू सहायकहरूले ढ्याङ्ग्रो बजाउँदछन् तर पज्युगुरु आफैले ढ्याङ्ग्रो बजाउँदछ र झ्यालि चाहीँ अरू सहायकहरूले बजाउँदछन् । मानिसले धातु चिनेर त्यसलाई विशेष आकृतिमा ढाल्न जानेपछि झ्यालिको विकास भएको हो । त्यसमा पनि गुरूङ समुदायमा झ्यालि बनाउन सक्ने प्रविधिको विकास भएको छैन । काठमाडौँ, पोखरा र तानसेनका बाँडाको पसलमा गुरूङहरूले झ्यालि किन्ने हो तर एक पाखे ढ्याङ्ग्रो भने आफैले बनाउन सक्छ । पज्युले ढ्याङ्ग्रो बजाउँदा सबभन्दा पहिले भूतको ढ्याङ्ग्रोको ताल बजाउनु पर्दछ । पज्युको ढोलमा मुजुरा हालेर खरि लगाउन पनि हुँदैन र सादा खालको हुन्छ । ढोलमा मुजुरा हालेर खरि लगाउने प्रविधि पनि पछि विकास भएको हो । पज्युमा दुम्सिको काँडाले बान हान्ने र रिट्ठाको गेडाले बान फर्काउने तान्त्रिक विधान छ । यसैगरी भेद फर्काउनको लागि पज्युले धनेश चराको टाउको प्रयोग गर्दछ । यसरी पज्युको भेषभूषा र साजबाजमा हिमालको डाँफेको प्वाँख र कस्तुरिको दाह्र, उच्च पहाडीभागको चैँगि (खोटसल्लो) र घोरल, मध्य पहाडीभागको दुम्सिको काँडा, बेसिको बेत र रिट्ठाको गेडा तथा मधेशको धनेश चराको टाउकाको साथै समुद्रको कौडि समेत उपयोग गरेको पाइन्छ ।
पज्युको परिचयले पनि उनको शास्त्र यही हिमालीक्षेत्रमा विकास भएको पुष्टि गर्दछ । पज्युले आफ्नो परिचय यसरी दिन्छन् –
लोँ गुरु (दक्षिणको गुरु अर्थात् चेपाङगुरु र थारुगुरुको कूटज्ञान पनि मैले साधेको छु), च्ह्योँ गुरु (उत्तरको गुरु अर्थात् भोटे लामागुरुको सद्ज्ञान पनि मैले साधेको छु) तर ङ गुरु (मेरो गुरु) थाँदर मोँ (हिमाल, पहाड, खोला, छहरा, भीर र वन पाखाको प्राकृतिक श्रोत र शक्तिको) ल्हिलाया ङ क्हेम्ज्यो (मैले स्वरूप धारण गरेको छु) ।
लमजुङ हिमालको फेदीको पग्रेँडाँडा पज्युको प्रमुख साधना स्थल हो । अतः पज्युलाई पग्रेँ पज्यु भन्दछ । कोकलिम्हार्सोँ (म्याग्दिको रूप्से छहरा)लाई मान्छेको सातो लाने र मरेको मान्छेको टाउको खाने भूतको राजा बस्ने ठाउँ मान्दछ । अतः पज्युको शास्त्र एवम् संस्कृतिले नेपालको जल, जमिन र जङ्गलसँग भूमिपुत्र गुरूङहरूको अन्तरसम्बन्ध रहेको वास्तविकतालाई राम्ररी स्पष्ट पार्दछ ।
डाँफेचरन (उच्च हिमालीक्षेत्रको खर्क खर्चरी) र माछाचरन (बेँसीको पहेँली धान झुल्ने खेत) गुरूङहरूको जैविक विविधता (Bio-Diversity) हो । श्रीपञ्चमीदेखि आकाशमा कर्याङकुरुङ चरा भूमध्यरेखा पार गरेर उत्तरतिर लाग्दछन्, धर्तीमा न्याउली चरी कराउन थाल्दछ र सर्पले कुरबाट टाउको बाहिर निकालेर आफ्नो दुइटा जिब्रो फट्कार्न थाल्दछ । अतः श्रीपञ्चमीदेखि गुरूङहरूको ताओम (उँभौली) सुरु हुन्छ । यसैगरी नागपञ्चमीदेखि आकाशमा कर्याङकुरुङ चरा उत्तरी ध्रुवबाट दखिनतिर फर्कन थाल्दछन् र धर्तीमा झ्याउँकिरी कराउन थाल्दछ । त्यसकारण नागपञ्चमीदेखि गुरूङहरूको माप्हुम (उँधौली) सुरु हुन्छ । फागुन १२ देखि सगर गर्जन्छ र त्यसको थर्कोले धर्ती कमलाउन थाल्दछ । धर्ती कमलाए पछि जमिन खेतीयोग्य हुन्छ र खेत बारीमा जोतचास गर्न थालिन्छ। जेठमा बाढी हुन थालेपछि माछाहरू शिर ठाडो गरेर ठाडो खोलातिर पस्दछन् । भदौ १२ देखि डाँफे चरनमा हिमालको चिसो सिरेटो चल्न थाल्दछ र भेडीको मूली माउले दखिनतिर टाउको फर्काउँछ ।भेडीको माउले दखिनतिर टाउको फर्काएको देखेपछि भेडी गोठालाले एक कान्ला तल गोठ सार्नु पर्दछ । यसैगरी भदौ १२ देखि खण्डवृष्टि भएर खोलाको पानी घट््न थालेपछि माछाहरू टाउको उँधो गरेर ठूलो खोलातिर लाग्दछन् । गुरूङहरूले बेँसिबाट गोठ लेकतिर लगेपछि चैतमा उँभौली पूजा र असोजमा बडादशैँ भन्दा पहिले उँधौली पूजा गर्दछन् । पुस १५ गतेदेखि पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको किरण सोझो पर्न थाल्दछ । अतः पुस १५ गतेदेखि रात लामो हुने क्रम अन्त्य भएर दिन लामो हुने क्रम सुरु हुन्छ । वर्ष भनेको सूर्यको प्रत्यक्ष गति हो । त्यसकारण दिन लामा हुँदै जाने पुस १५ गते गुरूङहरू ल्होछार (नयाँ वर्ष) मनाउँदछन् । यसरी गुरूङहरूको जीवनचक्र प्रकृतिको समयचक्रमा आधारित छ । यसरी प्रकृतिको समयचक्रसँग आफ्नो जीवनचक्र आश्रित हुनु भूमिपुत्रहरूको सांस्कृतिक विशेषता हो ।
मेसोपोटामियामा ई.पू.३००० ताका विकसित सुमेरियन, बेबिलोनियन र असिरियन सभ्यता र संस्कृतिमा देवतालाई बलि दिएको भेडाको मुटु–कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने चलन थियो (सिन्हा र प्रसाद, १९७६ : ३५, ७०) । नेपालमा जुम्लाको सिँजादराको जङ्गलमा वि.सं. २००६ सम्म वन मान्छेले मृग मारेर त्यसको मुटु–कलेजोमा जोखना हेरेको घटना पाइन्छ (जोशी, २०२८ : ९) । गुरूङहरूमा देवी–देवता र पितृलाई बलि दिएको पशु–पंक्षीको मुटु–कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने परम्परा अहिले पनि जीवन्त अवस्थामा रहेको छ । गुरूङ समुदायमा विद्यमान पशु–पंक्षीको मुटु–कलेजोमा जोखना हेरेर शकुन–अपशकुन बताउने यस परम्पराले गुरूङ संस्कृतिको आदिमपनाको नमूना प्रस्तुत गर्दछ ।
अथर्वपरिशिष्टमा आएको नेपालको उल्लेखलाई पछिल्लो कालमा थपिएको क्षेपक मानिएको छ । त्यसकारण कौटिल्यको अर्थशास्त्रमा उल्लेखित नेपालको उल्लेखलाई नै सर्वप्राचीन र आधिकारिक मानिएको छ । कौटिल्यको अर्थशास्त्रमा ऊनी कम्बलको सन्दर्भमा नेपालको उल्लेख आएको छ, जस्तै –
अष्टप्लौतिसंघात्या कृष्णा भिङ्गिसी
वर्षवारणमपसारक इति नैपालकम् ।।
(आठपाटा जोडेर बनाएको, कालो वर्णको, वर्षाद्काे पानी छल्ने, भिङ्गिसी र (एकै पाटाको) अपसारक नामक ऊनी कम्बल नेपालमा बनेका हुन् (शर्मा र अर्याल, २०२४ : १३१, १३९) ।
यस्ता कम्बलहरू नेपाल उपत्यका बाहिरका पहाडका विविध भागमा निर्माण गरिएको मानिएको छ (ज्ञवाली, २०१९ : २८७) । वास्तवमा गुरूङ भाषामा बखु, प्हउलि वा लब्रु र नेपाली भाषामा घुमराडि भनिने कम्बल नै कौटिल्यको अर्थशास्त्रमा उल्लेखित भिङ्गिसी हो । नेपालका भूमिपुत्र आदिवासीहरूमा भेडा पालन र ऊनी व्यवसायका लागि गुरूङहरू अग्रिम स्थानमा रहेका छन् । यसरी गुरूङहरूले ई.पू. चारौँ शताब्दीदेखिको नेपालको ऊनी शिल्प र कलालाई जोगाएर राखेका छन्।
गण्डकीप्रदेशमा सेन, खान र शाहवंशको राज्य स्थापना भएपछि अघिदेखि त्यहाँ विकसित मगर एवम्् गुरूङ राज्यहरू त्यही ठकुरी राज्यहरूमा विलिन भए । लमजुङका ठकुरी राजा यशोब्रह्म शाहको समयदेखि गुरूङ समाजमा हिन्दू गोत्रले प्रवेश पायो । राज्यसत्ताको अख्तियारसँग सँगै गुरूङ समाजमा हिन्दू गोत्रले प्रवेश पाएको हो । त्यसबेलाको हिन्दु राज्य सत्ताले गुरूङहरूलाई जात नमासेर चाक चकुई माफ गरी पश्चिम नेपालका मतवाली क्षेत्री र ठकुरी सरह नमासिने चोखो मतवाली जातमा राखेर राज्यको शासनमा सरिक गराएका थिए । यसरी गुरूङहरू क्षेत्री र ठकुरी सरह खुँडा हान्ने जातमा दरिए । खस, मगर र गुरूङको संयोगबाट संरचना गरिएको सैन्यशक्ति नेपाल राष्ट्रको निर्माणका लागि अत्यन्तै बलशाली र सफलिभूत प्रमाणित भयो । लमजुङ चारनाल (पूर्व मस्र्याङ््दि, पश्चिम मादि, उत्तर उँभोखोला अर्थात् मस्र्याङ््दिको शिर र दखिन थानसिङकोटसम्मको इलाका) मा वि.सं. १८७१ सम्म गुरूङहरूको सिर्तोबिर्ता कायम थियो (गुरूङ, २०३४ : २२) । नालसभा गुरूङ राज्यव्यवथाको मूल आधार र मुख्य विशेषता थियो । नालसभाको परम्पराले गुरूङहरूलाई गणजातिको रूपमा परिचित गराएको थियो (गुरूङ, २०६४ : ३५– ४०) । नेपालमा वि.सं. २००७ को परिवर्तन पछि गुरूङहरूको नालसभाको परम्परा लोप भयो ।
गुरूङको ल्ह्येबृँले थासोँ फाल्दा मादी, मस्र्याङदि, काली, महाकाली, लिब्रोँ म्हार्सोँ प्ह्रुबै छ्यु हिम्बा भनेर आफ्नै गाउँठाउँका नदी नालाहरुको जललाई अभिमन्त्रित गरेर शुद्ध शान्ति गर्दछन् । गुरूङको पज्यु र ल्ह्येबृँले मुस्ताङको लुब्राग गुम्बालाई आफ्नो गुरुघर मान्दछन् । गुरूङका लामाहरूले तिब्बती भाषाको ग्रन्थ पढेर तदनुसारको कर्म गर्दछन्् तापनि गुरूङ लामाहरूले मनाङको नारगुम्बालाई आफ्नो गुरुघर मान्दछन् । यसरी गुरूङका पुरोहितहरूमा आफ्नो देशप्रतिको अपनत्व र राष्ट्रिय भावना रहेको छ । आफ्नो देशप्रतिको अपनत्व र राष्ट्रियताको भावना नै भूमिपुत्रहरूको चरित्र, आदर्श र मर्यादा हो । यसैगरी गुरूङको घाटु नृत्यका हिमचुली, वरचुली, देवचुली र गङ्गाचुलीका चारओटा देवता छन् । हिमचुली र गङ्गाचुली कास्की जिल्लामा अन्नपूर्ण हिमशृङ्खलामा अवस्थित छन् । वरचुली र देवचुली चाहिँ नवलपुरमाथि पाल्पा जिल्लाको महाभारत पर्वत शृङ्खलामा अवस्थित छन् । यसैगरी घाटु नृत्यमा गण्डकीप्रदेशका विभिन्न कोट र घाटहरूमा अवस्थित देवताको पूजा गरिन्छ । अघि सामरिककालमा कोटका उमरा र घाटका माझीको महत्वपूर्ण दायित्व रहेको थियो । घाटुमा सप्तगण्डकीलाई सातै जमुना भनेको छ । यसरी गुरूङ संस्कृति नेपाली राष्ट्रियताको भावनाले ओतप्रोत रहेको छ । अतः यी ऐतिहासिक तथ्यहरू तथा सांस्कृतिक मूल्य, मान्यता, परम्परा एवम् नेपालको ढुङ्गा, माटो र हावापानीले गुरूङहरूलाई नेपालको भूमिपुत्र एवम् आदिवासीका रूपमा राम्ररी प्रमाणित गर्दछ ।
NEWS AND EVENTS
SONPAL SAMAJ UK
Lhochhar Celebration
Date: 3rd January 2026
Time: 12:00 - 21:00 hrs.
Venue: Greenford Hall, Ruislip Road
UB6 9QN
Shuvakamana Song
Sonpal Samaj UK, Summer BBQ Party - 30 Jul 2022
Useful Links